"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

महर्षि अत्रि र आत्रेय गोत्र

महर्षि अत्रि
वेद तथा पुराणहरुमा महर्षि अत्रिको उत्पत्तिको बारेमा सुन्दर वर्णनहरु छन् । अक्ष्णोऽत्रिः’ (भागवत) – भागवत लगाएत अन्य पुराणहरुमा ब्रह्माजिको मानसपुत्रको रुपमा उनको चक्षु (नेत्र) भागबाट अत्रि मुनिको प्रादुर्भाव भएको हो । ऋग्वेदको सहायक ग्रन्थ बृहद्देवतामा अत्रिको उत्पत्तिकथा यस्तो छ – ‘प्रजाकामको (मानव सृष्टि गर्ने) इच्छाले प्रजापति ब्रह्माले साध्यदेव र विश्वदेवहरुसँग मिलेर दिव्य ३ वर्षको यज्ञ गर्दा दीक्षाको अवसरमा वाच् (वाग्देवी) सशरीर त्यहाँ प्रकट हुनुभयो । अचानक अनुपम सुन्दरी कन्याको आगमनले ब्रह्मा र वरुणदेवको कामवश शुक्र स्खलित भयो र त्यो वायुदेवले बलिरहेको अग्निमा त्यसलाई होम्नुभयो । त्यहि बेलामा अग्निको ज्वालाबाट (ज्वालाको चटचटाहट् अर्थात् भृग् बाट) भृगु र अंगारबाट अंगिरा ऋषिको प्रादुर्भाव भयो । वाग्देवीको पुनः आग्रहपछि ब्रह्माजीको मानसपुत्रको रुपमा सूर्य र अग्निसमान तेजस्वी अत्रि ऋषिको उत्पत्ति भयो ।‘ ब्रह्माण्ड तथा वायुपुराणानुसार पनि यहि कथालाई अघि बढाउँदै वाग्देवीको पुनः याचनापछि ब्रह्मणः पुत्राः मानसाः षण्महर्षयः’ - ब्रह्माजीको मानसपुत्रको रुपमा अरु ६ महर्षिहरु क्रमशः मरीच, क्रतु, अत्रि, पुलस्त्य, पुलह र वसुमान (वसिष्ठ) उत्पन्न भए । तेस्रोमा उत्पत्न्न भएकाले ति ऋषिको नाम अत्रि भयो - ‘अहं तृतीयं इत्यर्थस्तस्मादत्रिः स कीर्त्यते’ । फेरि यि महर्षिहरुबाट पनि अर्का लोकविख्यात अग्निष्वात्तादि सात पितृगणहरु उत्पन्न भए । तिनमा क्रमशः भार्गव पितृगण, आङ्गिरस, मारीच, आत्रेय, पौलस्त्य, पौलह र वाशिष्ठ पितृगण हुन् । यि पितृगणहरुको विस्तृत विवरण वराह तथा मत्स्यपुराणादिमा हेर्न सक्नुहुन्छ ।
यसैगरी अत्रिको शाब्दिक अर्थ गर्दा ‘न+त्रि’ – त्रि अर्थात् सृष्टिको तीन गुण सत्व, रज र तम हुन्छ । नले निषेध गरेर नहुनुको अर्थमा व्याकरणको नियमानुसार न व्यञ्जनवर्णबाट अ स्वरवर्ण रहेर अत्रि शब्दको निर्माण हुन्छ । जसको अर्थ हुन्छ त्रिगुणातीत अर्थात् तीनै गुणबाट जो टाढै रहेको छ, त्यो अत्रि हो । ब्रह्मवैवर्त पुराणमा - त्रिगुणायां प्रकृत्यां त्रिर्विष्णावश्च प्रवर्तते तयोर्भक्तिः समायस्तेनबालोऽत्रिरुच्यते ॥‘ अर्थात् त्रि शब्द त्रिगुणमयी प्रकृति र अ विष्णुको अर्थमा आउँछ । जसको यी दुई (प्रकृति र पुरुष) प्रति समान भक्ति छ, त्यो बालकको नाम अत्रि भनिन्छ ।
अत्रि ऋषिको पत्नीको नाम अनुसूया हो । जो परदोषदर्शन अर्थात् अर्काको गुणमा पनि दोषबुद्धिले दोष देख्ने विकारदेखि रहित भएकी छन्, तिनै अनुसूया हुन् । अत्रि र अनुसूयाका पुत्ररत्नका रुपमा त्रिदेवले दत्तात्रेय, दुर्वासात्रेय र सोमात्रेयको रुपमा जन्मलिनुभएको अग्नि, सौर तथा भागवतादि पुराणहरुमा वर्णन छ – अत्रेः पत्न्यनसूयात्रीञ्जज्ञे सुयशसः सुतान् दत्तं दुर्वाससं सोममात्मेशब्रह्मसंभवान् ॥‘ (भागवत) ‘सोमो ब्रह्माभवद्विष्णुर्दत्तात्रेयोऽभ्यजायत दुर्वासाः शङ्करो जज्ञे वरदानाद्दिवौकसाम् ॥‘ (मार्कण्डेय) वायुपुराणमा अत्रि र अनुसूयाबाट ५ निष्पाप छोराहरु (पञ्चात्रेय) र एक छोरी श्रुति जन्मिएको प्रसङ्ग आउँछ ।
अनुसूया विजज्ञे वै पन्चात्रेयानकल्मषान् कन्यां चैव श्रुतिं नाम माता शङ्खपदस्य सा ॥
कर्दमस्य तु पत्नी सा पौलहस्य प्रजापतेः सत्यनेत्रश्च हव्यश्च आपोमूर्तिः शनैश्चरः
सोमश्च पञ्चमस्तेषामासीत्स्वायंभुवेन्तरे यामदेवैस्सहातीताः पञ्चात्रेयाः प्रकीर्तिताः ॥
तेषां पुत्राश्च पौत्राश्च आत्रेयाणां महात्मनाम् स्वायंभूवेऽन्तरेऽतीताः शतशोथ सहस्रशः ॥
- आत्रेयी श्रुति ऋषि शंखपाद र काम्या (राजा प्रियव्रतकी पत्नी) की आमा र प्रजापति कर्दम (पौलह) की पत्नी थिइन् । सत्यनेत्र, हव्य (भव्य) मुनि, आपमूर्ति, शनैश्चर (शनीश्वर) र सोम यी पाँच अत्रिवंशधर स्वायम्भुव मन्वन्तरमा यामदेवगणहरु विलुप्त हुँदासँगै यी पञ्चात्रेय भनेर प्रख्यात थिए । यहि स्वयम्भु मनुको अधिकारकाल बितेपछि पनि उनका सयौँ, हजारौं पुत्रपौत्रगण महात्मा अत्रिसँग विद्यमान थिए । यसरी यी आत्रेयहरुको वर्णन ब्रह्माण्ड, लिङ्ग तथा हरिवंश पुराणमा पनि पाइन्छ ।
अर्को एउटा प्रसंग छ जहाँ अत्रिको अरु १० कन्याहरुसँग विवाह भएको छ । हरिवंश, लिंग, वायु, मत्स्य, कूर्म, अग्नि तथा विष्णुधर्मोत्तर पुराणानुसार अत्रिवंशमा (आत्रेयमा) उत्पन्न हुनेवालाहरुको गोत्रकर्ताका रुपमा प्रभाकर अत्रि हुन् - ‘ब्रह्मणोऽत्रिः सुतः श्रीमान् प्रभावाद् ब्रह्मणासमः प्रभाकरस्तस्य सुतः पितामहसमोगुणैः ॥‘ (विष्णुधर्मोत्तरपुराण) एकपटक स्वर्भानु (राहु) द्वारा आहत भएर (ढाकिएर) सूर्य जब आकाशबाट पृथ्वीमा खस्न लागेका थिए (सूर्यग्रहण लाग्दा), तब समस्त भूलोकमा अन्धकार छाउँदा जुन ब्रह्मर्षिले ‘तिम्रो कल्याण होस्’ भनेर सुर्यको प्रभा (प्रकाश) लाई पुनः प्रवर्तित गरिदिएका थिए र सूर्यलाई भूमिमा खस्नबाट जोगाएका थिए; तिनै प्रभु अत्रि ‘प्रभाकर’ कहलाएका हुन् भनिएको छ । अर्को अर्थमा आत्रेयवंश प्रभवास्तासां भर्ता प्रभाकरः’ (आत्रेय वंशस्य प्रभवाः उत्पादकाः इत्यर्थः तासां भद्रादीनां भर्ताः प्रभाकरः अत्रि) भनेर आत्रेयवंशका जन्मदाता (प्रभवा) र भद्रादिहरुको भर्ता (पति) को रुपमा अत्रिलाई ‘प्रभाकर’ भनिएको छ । अत्रिले भद्राश्व (रौद्राश्व, हर्यश्व, कृशाश्व ?) र घृताची (धृता?) अप्सराकी भद्रा, मद्रा आदि नाम गरिएका १० छोरीहरुसँग विहे गरेका थिए । तिनबाट सोम, दत्त र दुर्वासासँगै अन्य १० वेदज्ञ तथा कल्याणदायक स्वस्ति ऋषिहरु (जसलाई सामुहिक रुपमा स्वस्त्यात्रेय भनिन्छ) र ब्रह्मवादिनी अबला (अमला?) नामकी कान्छी छोरी पनि उत्पन्न गरेका थिए । ऋग्वेदमा अत्रि पुत्रीका अपालाको प्रसंग आएको छ । पुराणभेदले अपाला नै अबला हुन् । यिनी ऋग्वेदको ८ मण्डलमा ९१औं सूक्त प्रथम मन्त्रकी द्रष्टा (ऋषिका) हुन् । ब्रह्मपुराणमा अंगिरा ऋषिलाई अत्रि पुत्रीका आत्रेयी विहे गरि दिएको उल्लेख छ । कुर्मपुराणमा अत्रेः पुत्रो भवद् वह्निः सोदर्यस्तस्य नैध्रुवः’ ब्रह्माण्डपुराणमा पनि ‘आत्रेयस्त्वग्निरित्येव’ भन्ने वचनले अत्रिका छोराको रुपमा अग्निलाई (ऋग्वेदमा कुमार) भनेको छ, जो नैध्रुवको सोदर भाइ हुन् र स्वस्त्यात्रेयहरु अत्रिको संतान हुन् भनेको छ । त्यस्तै पुनर्वसु (आयुर्वेदका आचार्य) पनि अत्रिको सन्तानको रुपमा लिइन्छ ।
प्रमुख तीन आत्रेयहरु मध्ये सोमको क्षत्रीय वंश विस्तार हुँदै पुरुवंश, भरतवंश, वृष्णिवंश र यदुवंश आदिको उद्भव भयो भनेर यिनै वंशको बारेमा सबैजसो पुराणहरुमा निकै विस्तृत वर्णन पाइन्छन् । दत्तको वंशको बारेमा महाभारतको अनुशासन पर्वमा (दत्तात्रेयस्य पुत्रोऽभून्निमिर्नाम तपोधनः) दत्त र मेधाका छोरा निमिले आफ्नो छोरा श्रीमानको श्राद्ध गरेको प्रसंग बताइएको छ भने वराह पुराणमा पनि आत्रेयस्यात्मजो विप्रौ निमिर्नाम तपोधनः‘ भनेर दत्तात्रेयपुत्र निमिले आफ्नो पुत्र श्रीमानको श्राद्ध गरेपछि श्राद्धको सुरुवात भएको कथा पाइन्छ । भ्रम नहोस् मनुपुत्र राजा इक्ष्वाकुका छोराको नाम पनि निमि (विदेह) नै हो, जसको शरीरबाट राजा जनक (वैदेह) को वंश चलेको र त्यहि वंशका सीरध्वज सीताका पिता हुन् भनेर विष्णुपुराणमा भनिएको छ । त्यस्तै ब्रह्मवैवर्त पुराणमा श्रीकृष्णकी बहिनी एकानंशालाई दुर्वासाले विहे गरेको उल्लेख छ भने कतै कदलीलाई दुर्वासाको पत्नि भनिएको छ । ऋग्वेदमा अत्रि ऋषिलाई अत्रिभौम र अत्रिसांख्यको नामले पनि चिनाएको छ । ऋग्वेदको बृहद्देवतामा अत्रि, अर्चनानस (अर्चनाना) र श्यावाश्व गरि पिता-पुत्र-पौत्रलाई रथावीति दार्भ्य नाम गरेका राजाको यज्ञमा प्रवरको रुपमा वरणको प्रसंगमा अत्रिपौत्र श्यावाश्वले राजाकी छोरी विहे गर्ने चाहना गरेको र रानीले मन्त्रद्रष्टा भएमात्र छोरी दिने भनेपछि श्यावाश्वले तपस्या गरेर वेदमन्त्र दृष्ट गरेको कथा छ । ऋग्वेदको पाँचौं मण्डलमा अत्रि लगायत आत्रेयगोत्रज ऋषिहरु मन्त्रद्रष्टाका रुपमा स्थापित छन्; त्यसैले उक्त मण्डललाई ‘आत्रेय मण्डल’ भनिन्छ । यो मण्डलमा कल्याण, मंगल र श्रेयसूक्तहरु छन्; जुन शुभकार्यहरुमा आजपनि सस्वर पठित हुन्छन् ।
आत्रेय गोत्र
महर्षि अत्रिबाट नै आत्रेय गोत्र सुरुवात भएको माथि बताइसकियो र यिनैबाट आत्रेय गोत्रको प्रतिष्ठा बढेको छ । गोत्रप्रवरसम्बन्धि ग्रन्थहरुमा अनेक आत्रेयको नाम उल्लेख भएको छ – वर्णको आधारमा आत्रेय समूहको रुपमा कृष्णात्रेय, गौरात्रेय, रक्तात्रेय, श्यामात्रेय, नीलात्रेय, श्वेतात्रेय, महात्रेय र गात्रेय आदि थुप्रै आत्रेय गोत्रकारहरु छन् । कसैले दत्तात्रेयलाई आत्रेय गोत्रको मूल ऋषि हुन् भन्ने मत राख्दछन् भने कसैले आत्रेय नामकै ऋषिबाट यो गोत्र चलेको भन्दछन् तर प्रमाणबिना यो कुरा स्वीकार गर्ने स्थिति छैन । किनभने माथि बताएका वैदिक र पौराणिक ग्रन्थहरुबाट निर्णय गर्दा आत्रेय कुनै एक ऋषि विशेष नभएर अत्रिका सन्ततिको सामुहिक नाम नै हो र अत्रि नै आत्रेय गोत्रका मूल प्रवर्तक ऋषि हुन् भन्ने कुरा स्पष्ट हुन्छ । ‘अत्रेरपत्यमिति आत्रेयः’ भन्ने सुत्रले पनि अत्रिकुलका सन्तान (अत्रिका अपत्य) हरु नै आत्रेय हुन् भनेको छ । गोत्र ऋषि विशेषबाट नभै ऋषिका सन्ततिबाट रहन्छ र गोत्रको नामले ऋषिविशेषको विशेषण (उपमा) जनाउनुपर्छ भनेर गोत्र परिचयमा भनिसकियो । त्यस्तै प्रवर र गणमा पनि उच्चारण गर्दा ऋषिको नाम विशेषण हुन्छ । जस्तै आत्रेय गोत्रको एउटा प्रवर अन्तर्गत माथिको ‘गोत्र भूतस्य०’ आदि वचनानुसार ऋषिहरु क्रमशः अत्रि, अर्चनानस र श्यावाश्व हुन् । प्रवरमा उच्चारण गर्दा आत्रेय, आर्चनानस र श्यावाश्व हुनुपर्छ ।
आत्रेयकै सम्बन्धमा निर्णयसिन्ध्वादि ग्रन्थहरुमा अथ अत्रयः ते चत्वारः अत्रयः गविष्ठिराः वाग्भुतकाः मुद्गलाश्चेति..’ तथा ‘ आत्रयो वाग्भूतका गविष्ठिरा अतिथयः पुत्रिकापुत्राश्चेत्यादयो गोत्रगणाः’ भनेर अत्रिवंशका चार गणको उल्लेख गरेका छन् –१ अत्रि, २ वाग्भूतक, ३ गविष्ठिर (अतिथि), ४ मुद्गल वा पुत्रिका ।  ब्रह्माण्ड, वायु तथा लिंगपुराणमा यस्तो छ – श्यावाश्च प्रत्वसश्चैव बबल्गुश्चाऽथ गह्वरः आत्रेयाणां च चत्वारः स्मृताः पक्षा महात्मनाम् ॥‘ १ श्यावाश्व (अत्रि पौत्र), २ प्रत्वस (मुद्गल), ३ बबल्गु (वाग्भूतक/बलारक) र ४ गह्वर (गविष्ठिर) यिनै चार आत्रेयगोत्रका भेद हुन् । यी गोत्रगण बाहेक अन्य थप गोत्रगण पनि बताइएको छ – १ अतिथि (पूर्वातिथि), २ वामरथ, ३ सुमंगल, ४ बीजवाप र ५ धनञ्जय । ब्रह्माण्ड पुराणमा अत्रि, अर्वसन, श्यावाश्व, गविष्ठिर, आविहोत्र, धीमान र पूर्वातिथिहरु आत्रेय मन्त्रकार महर्षि भनेको छ । त्यस्तै सोहि पुराणमा अंग नाम गरेका प्रजापति अत्रि वंशका हुन्, जसको छोरा बेन नास्तिक भएको प्रसंग छ । पुराणभेदानुसार श्यावाश्व शब्दलाई श्यामाश्च, श्यावाश्च, ध्याराश्वा, शावास्य र श्यावाश्य, अर्चनानसलाई ऋचनानस, अर्वसन र अर्धस्वन, त्यस्तै अन्य आत्रेय ऋषिहरुको नाम अपभ्रंश रुपमा उल्लेख गरिएको छ ।
मत्स्य तथा विष्णुधर्मोत्तर पुराणमा अत्रि वंशधर शारायण (शाराहणा) वा कर्दमायन (कर्पूरायण) शाखीय आत्रेय गोत्रकार ऋषिहरु – उद्दालकि (शैवालकी), शौनकर्णि (शौनवर्णि वा शोण र कर्णिरथ?) , शौक्रतु (सामुहिक नाम शौक्रतवात्रेय) (सोंद्रुतय?), गौरग्रीव, गौरजिन (सकारञ्जिरथ), मैत्रायण (चैत्रायण), अर्धपण्य (आत्मयन्य), वामरथ, गोपन (गोपवन), तकिबिन्दु (अस्तकि र बिन्दु?), कर्णजिह्व (ह्वानजिद्?), हरप्रीति (बाहुरिन्द्र?), लैद्राणि (विरैन्द्रालि?), शाकलायन (शाकटायन), तैलप (तैलेय), सवैलेय (वैलेय वा वौलेय), अत्रि, गोणीपति (गौणीमति), जलद, भगपाद, सौपुष्पि तथा छन्दोगेय यिनको त्रिप्रवर – अत्रि, आर्चनानश र श्यावाश्व त्यस्तै दाक्षि, बलि, पर्णवि (पालकृ), ऊर्णनाभि (और्णनाभि), शिलार्दनि वा शालिसन्धि (सिलिर्मिलि?), बीजवापी, शिरीष, मौञ्जकेश, गविष्ठिर (श्यावाश्वपुत्र) तथा भलन्दन (वलन्धन) यिनको पनि त्रिप्रवर – अत्रि, गविष्ठिर र पूर्वातिथि । अत्रिपुत्र वामरथकी पुत्रिका आत्रेयीबाट उत्पन्न कालेय (हालेय), वालेय (सवालेय), वामरथ्य (वाममथ्य?), धात्रेय, तथा मैत्रेय यिनको पनि त्रिप्रवर – अत्रि, वामरथ्य र पौत्रिक (पौत्रि) हो । अन्यथा नपरोस्, यहाँ नामहरु पुराणानुसारकै राखिएको छ । पाण्डुलिपिबाट पुराण संकलन गर्ने क्रममा बुझाईभेद वा अपभ्रंश भएर नाम फरक परेका हुनसक्छन् ।
ऋग्वेद पञ्चममण्डलमा उल्लिखित आत्रेय ऋषिहरु – बुध (सोमपुत्र), गविष्ठिर (श्यावाश्वपुत्र), कुमार (अग्नि), वसुश्रुत (पुनर्वसु?), इष, गय, सुतम्भर, पूरु, द्वित (मुक्तवाह), वव्रि, सस, विश्वसामा, द्युम्न, विश्वचर्षणि (द्युम्नपुत्र), वसूयु (सामुहिक नाम वसूयवात्रेय), अत्रिभौम, विश्ववारा (विश्ववारात्रेयी), बभ्रु, अवस्यु, गातु, सदापृण, प्रतिक्षत्र, प्रतिरथ, प्रतिभानु, प्रतिप्रभ, स्वस्ति (सामुहिक नाम स्वस्त्यात्रेय), श्यावाश्व, श्रुतवित, अर्चनाना (अर्चनानस), रातहव्य, यजत, उरूचक्रि, बाहुवृक्त, पौर (पूरुपुत्र), सप्तवध्रि, सत्यश्रवा, एवयामरुत र प्रयस्वत, त्यस्तै अन्धीगु, श्यावाश्वि (श्यावाश्वपुत्री), अपाला र अत्रिसाङ्ख्य आदि हुन्
अब विभिन्न गोत्रप्रवरसंबन्धि ग्रन्थहरुबाट आत्रेयगोत्र (अत्रि वंश) का प्रवरभेदहरु उल्लेख गरिन्छ –

      १)     अत्रिगण – अत्रि, भूमि, छान्दि र वामरथ इत्यादि ९५ भन्दा बढि ऋषिगण तथा वामरथगणहरुको प्रवर आत्रेयार्चनानसश्यावाश्व हो ।
वामरथगण – अत्रिगण अन्तर्गतमै यिनको प्रवर हो ।
      २)     गविष्ठिरगण – गविष्ठिर, बीजवाप र भलन्दन इत्यादि २४ ऋषिगणहरुको प्रवर
                आत्रेयार्चनानसगाविष्ठिर हो ।
पूर्वातिथिगण – गविष्ठिर, बीजवाप र भलन्दन इत्यादि २४ भन्दा बढि ऋषिगण, पूर्वातिथि तथा अतिथिगणहरुको प्रवर आत्रेयार्चनानसगाविष्ठिर, आत्रेयगाविष्ठिरपौर्वातिथिआत्रेयार्चनानसातिथि हो । त्यस्तै मुद्गलगणमा मुद्गल र अर्णवादि १० भन्दा बढि ऋषिहरुको प्रवर आत्रेयार्चनानसपौर्वातिथि हो ।
      ३)     वाग्भूतकगण यिनको प्रवर आत्रेयार्चनानसवाग्भूतक हो
      ४)     पुत्रिकागण – बालेय, कौन्द्रेय, शौभ्रेय र वामरथ्यादि १० भन्दा बढि अत्रिपुत्रिका पुत्र हुन् । यसान्तर्गत वामरथ्यगण पनि पर्दछन् । यी ऋषिगणहरुको प्रवर आत्रेयवामरथ्यपौत्रिक हो । 
      ५)     सुमंगलगण – यिनको प्रवर आत्रेयसौमङ्गलश्यावाश्व हो
      ६)     धनञ्जयगण - यिनको प्रवर आत्रेयार्चनानसधानञ्जय हो ।
      ७)     यसबाहेक द्विगोत्रको रुपमा वसिष्ठ वंशमा वासिष्ठात्रेयजातूकर्ण्व त्रिप्रवर पनि भेटिन्छ । यहाँ वसिष्ठवंश्य जातूकर्ण अत्रि तथा पुनर्वसुका शिष्य हुन् । यसबाट उनले गुरुगोत्र अङ्गिकार गरेको भन्ने स्पष्ट हुन्छ । 
अत्रिवंश वृक्षसँग सम्बन्धित अन्य वंश – मित्रयु, शुनक, संकृति, विश्वामित्र हुन् । त्यस्तै मित्रयु र गृत्समद (भृगुवंशका कृत्रिम पुत्र), कण्व, मुद्गल, संकृति, पुरुकुत्स र मेधातिथिहरु (अंगिरावंशका कृत्रिम पुत्र) अत्रिवंश्य एवं उत्तानपाद (मनुपुत्र) अत्रेर्दत्तकपुत्र भएकाले पनि ब्रह्माण्डपुराणमा अंग नामका प्रजापति अत्रिवंश्य भनिएको छ ।
अब प्रश्न उठ्नसक्छ अत्रिबाट आत्रेय गोत्र हो भने अत्रि गोत्र कसरी चल्यो ? कसैको मतमा अत्रि र आत्रेय बाबु-छोराबाट चलेको गोत्र हुन्, कसैको अत्रि र आत्रेय गोत्र नामभेद मात्र हो भन्ने छ भने कसैको मतले ‘अत्रेः शिष्यश्चात्रि प्रोक्ता, आत्रेयारत्रिवंशजाः ।‘ ब्रह्मवैवर्तपुराणको (?) भनिएको यो श्लोक प्रमाणबाट अत्रिको वंशत्वबाट आत्रेय गोत्र र शिष्यत्वबाट अत्रि गोत्र चलेको हो, यी दुई गोत्र फरक हुन् भन्ने पनि छ । यी सबै मतमा इतिहास कोट्याउँदा, पुराणहरु हेर्दा र गोत्रप्रवरसम्बन्धित ग्रन्थहरुले पनि अत्रिवंशज नै आत्रेय गोत्र हुन् भन्ने स्पष्ट पार्छ र आत्रेय कुनै एक ऋषिविशेष नभएर सामुहिक ऋषिहरु हुन्, जो की अत्रिका अपत्यहरुलाई मात्रै भनिन्छ । मानौं आत्रेय ऋषिविशेषबाटै गोत्र चलेको हो भने आत्रेय ऋषि, पत्नी र वंशको बारेमा कतै उल्लेख हुनपर्ने । यसो गहिरिएर विचार गर्दा पुर्खारुले विवाह गर्न पर्यो भने गोत्रको उच्चारणमा, गोत्र फेरबदल, सट्टापट्टाको प्रचलन र थरको आधारले भएपनि एकै गोत्रमा विहेबारी चलिरहेको उदाहरण हामीमाझ छँदै छ । यस्तै समस्या कश्यप र काश्यप, भरद्वाज र भारद्वाज गोत्रहरुमा पनि देखिन्छ । हुन त शिष्य-प्रशिष्यहरुले पनि गुरुको गोत्र अङ्गिकार गर्ने परम्परा, त्यस्तै छोरीका सन्तानले पनि मातामहको गोत्र अङ्गिकार गरेको आदि प्रमाणहरु पुराणहरुमा उल्लेख हुँदाहुँदै पनि गोत्रकर्ता कुल ऋषि को हुन् भन्ने भ्रम हाम्रो माझमा अझै कायमै छ भने विद्वानहरुले पनि प्रवर भन्न नजानेर आत्रेय, अर्चना र ईशावास्य सम्म पनि भन्न भ्याएका हुन्छन् । त्यसैले आत्रेय गोत्रीय बन्धुविद्वानहरुले अझ गहन खोज गरेर ऋषिवंशको परम्पराको बारेमा सत्यता अवगत गराउने र विसंगति भए हटाउने काममा अघि बढ्नुपर्ने देखिन्छ । अतः स्वजातीय र स्वधर्मको गौरव लाग्ने जतिले प्रमादग्रस्त नभैकन यस विषयमा चैतन्य हुनुपर्दछ ।
अन्तमा विस्तृत एवं व्यापक रुपमा रहेका पुराणेतिहासहरुबाट ऋषिवंशको खोज-अध्ययन गरेर भ्याउनु ‘उडेर चन्द्र छुनु’ जत्तिकै जटिल कार्य लाग्छ । तरपनि जतिसक्दो शास्त्रहरूको पानाबाट आत्रेय गोत्रको बारेमा यहाँ संक्षिप्तरुपमा प्रमाणहरु प्रस्तुत गर्ने जमर्को गरिएको छ । समय मिलेसम्म र शास्त्रप्रमाण भेटेसम्म अझै अध्ययन बाँकी नै छ, प्रस्तुत पनि हुँदै जानेछन् । मानवस्वभावानुसार भाषागत वा अन्य त्रुटी भएमा पनि औंल्याइदिनु हुने नै छ । कुलऋषि महर्षि अत्रिलाई शतत नमन गर्दै विश्राम । शुभमस्तु !
अर्याल केशवशरण ‘आर्यकेश’
भरतपुर-४, शिवघाट
(अर्याल बन्धु समाज, चितवनको अबस स्मारिका २०७४ मा प्रकाशित)

4 comments: