"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Friday, August 25, 2017

ऋषिगोत्र-विचार

‘ऋषि’ अर्थात् ज्ञानसम्पन्न व्यक्ति; ज्ञान भनेको श्रुति, श्रुति भनेको वेद हो, वेद भनेको स्वयं नारायण हो (वेदो नारायणः साक्षात्) । जो वेदज्ञ वा नारायणलाई जान्नेवाला छ, त्यो नै ‘ऋषि’ हो । ‘दृशिर् प्रेक्षणे’ धातुबाट ऋषि शब्दको निष्पत्ति भएको हो । ‘दृशि’ बाट दकार लोप हुँदा ऋषि शब्द बन्छ । यसको अर्थ हो ‘द्रष्टा’ अर्थात् तपस्याद्वारा वेदमन्त्रको साक्षात्कार गर्नेवाला । ‘ऋषिर्दर्शनात्’ अर्थात् सत्यको तपस्या गरेर आफ्नो ज्ञानात्मिका शक्तिद्वारा वैदिक मन्त्र (वेदका ऋचा) को जसले परोक्ष दर्शन गरे, तिनीहरु नै ऋषि कहलाए । त्यसैले ऋषिहरुलाई मन्त्रद्रष्टा (ऋषयो मन्त्रद्रष्टारः) भनिन्छ । ऋषन्ति प्राप्नुवन्ति तपसा वेदमन्त्रान् इति ऋषयः’ – तिरोहित भएका वेदका मन्त्रहरुलाई तपस्यद्वारा आविर्भाव गर्नेवाला नै ऋषि हो । महाभारतको तलको श्लोकले पनि यहि अर्थलाई समर्थन गरेको छ - युगान्तेऽन्तर्हितान् वेदान् सेतिहासान् महर्षयः  तपसा लेभिरे पूर्वमनुज्ञाताः स्वयम्भुवा ॥‘ युगौंदेखि लुकेको वेदहरु र इतिहासहरु जुन छन् तिनलाई तपस्याद्वारा जसले ज्ञान गरे, प्राप्त गरे तिनै ऋषि हुन् । जुन वेदमन्त्रको दर्शन जुन ऋषिले गरे, त्यो वेदमन्त्रको ऋषिको रुपमा तिनै स्थापित भए । ब्रह्मा (स्वयम्भू) को मानसी संकल्पद्वारा शक्तिसामर्थ्य, तप, स्वाध्याय, अध्यात्म, ज्ञानादि सबै गुणले ब्रह्मासमान प्रादुर्भाव भएका भृगु, अंगिरा, मरीचि, अत्रि तथा वसिष्ठादि अनेक ऋषिहरुले वेदमन्त्रको द्रष्टा बनेर सृष्टिवर्धनमा योगदान दिएका छन् । यिनै ऋषिहरु स्वायाम्भुवादि मन्वन्तरहरुमा पालैपालो सप्तर्षिको नामले परिगणित भएर प्राणीमात्रको कल्याण गर्ने काम गर्दै आइरहेका छन् । जुन वेदमन्त्रको दर्शन जुन ऋषिले गरे, त्यो वेदमन्त्रको ऋषिको रुपमा तिनै स्थापित भए । यिनै मन्त्रद्रष्टा ऋषिबाट एवं यिनैका मन्त्रद्रष्टा सन्ततिहरुबाट वर्णाश्रमधर्म-व्यवस्थालाई सुरक्षित राख्न गोत्र, गण र प्रवरको पनि व्यवस्था सुरुभएको हो ।
गोत्र-प्रवर-गण :- हाम्रो श्रुतिस्मृतिहरुमा ‘गोत्र’ शब्दको व्यापक अर्थ बताइएको छ । एक अर्थमा ‘गो’ भनेको पृथ्वी र ‘त्र’ भनेको रक्षागर्नेवाला अर्थात् जगतको रक्षा तथा कल्याण गर्ने ‘गौपालक’ । त्यस्तै ‘गो’ लाई इन्द्रिय मानेर इन्द्रियको आघातबाट रक्षागर्ने अर्थमा पनि गोत्र शब्द बनेको छ । ऋग्वेदमा सहस्र गाईहरुका सेवक ऋषिहरुलाई अग्निदेवले मन्त्रद्रष्टा पुत्र दिएको प्रसङ्ग आउँछ - अग्निर्ऋषिं यः सहस्रा सनोति (१०/८०/४) । त्यस्तै पौराणिक कथाहरुमा ‘एकपटक सृष्टिमा संकट परेको बेलामा रक्षाको लागि गौरुप लिएकी पृथ्वीको ऋषिहरुले दोहन गरेका थिए ।‘ भन्ने प्रसङ्ग पनि छ । त्यसो हुनाले ‘गो’ अर्थात् पृथ्वी वा गाई जे भनेपनि ऋषिहरुले पालन तथा रक्षा गर्ने गरेको इतिहासले गौरक्षक ऋषिका सन्ततिहरुलाई गोत्रको नामले चिनिन थालिएको स्पष्ट हुन्छ । गोत्रको पर्याय अर्थको रुपमा पक्ष, कुल, वंश र वर्ग आदि पर्दछन् । व्यवहारिक रुपमा हेर्दाखेरि पनि गोत्रको आशय पहिचानसँग जोडिएको हुन्छ । जसानुसार प्रत्येक मनुष्यको सम्बन्ध अमुक ऋषिको कुलसँग छ भन्ने थाहा हुन्छ । गोत्रको नामाकरण ऋषिको नामसँग विशेषण जोडिएर हुन्छ । जस्तै :- गर्गको गार्ग्य, कश्यपको काश्यप, वसिष्ठको वाशिष्ठ, विश्वामित्रको वैश्वामित्र तथा अत्रिको आत्रेय । अपत्यं पौत्रप्रभृति गोत्रम्’ व्याकरणको यो सूत्रले पनि सोहि अर्थलाई प्रष्ट गर्दै पुत्रपौत्रादिबाट गोत्र हुन्छ भनेको छ । त्यस्तै प्रवर र गणमा पनि उच्चारण गर्दा ऋषिको नाम विशेषण हुन्छ । जस्तै :- आत्रेय गोत्रको प्रवर ऋषि अत्रि, अर्चनानस र श्यावाश्व हुन् र उच्चारण गर्दा आत्रेय, आर्चनानस र श्यावाश्व हुनुपर्छ ।
गोत्र के कति छ भन्ने सन्दर्भमा विभिन्न धर्मशास्त्रहरुले प्रमुख ८ गोत्रको चर्चा गरेको पाइन्छ । सप्तानामृषीणामगस्त्याष्टानां पक्षा भवन्ति वा यदपत्यं तद्गोत्रमित्युच्यते - अत्रि, वसिष्ठ (मित्रावरुणवंश्य), विश्वामित्र (गायत्रीमन्त्रद्रष्टा कुशिकवंश्य), जमदग्नि (भृगुवंश्य), गौतम र भरद्वाज (अंगिरावंश्य), कश्यप अगस्त्य (मरीचि वंश्य) ऋषिका अपत्य (सन्तति)बाट ८ वटा गोत्रको सुरुवात भयो । यसबाहेक ब्रह्मापुत्र भृगु, अंगिरा र मरीचि पनि गोत्रकार ऋषिहरु हुन् । क्रतु, पुलस्त्य र पुलहले अगस्त्यका सन्तानलाई धर्मपुत्र बनाएर पनि आफ्नो गोत्र चलाएको देखिन्छ । अगस्त्य वसिष्ठका अनुज पनि हुन् । गोत्राणां तु सहस्राणि प्रयुतान्यर्बुदानि च ऊनपञ्चाशदेवैषां प्रवरा ऋषिदर्शनात् ॥ बौधायनोक्त यो श्लोकले पनि गोत्रहरु हजारौं छन् तर तिनको प्रमुख प्रवरभेद ४९ वटा मात्र छन् भनेर दर्शाएको छ ।
‘प्रवर’ भन्नाले गोत्रकार ऋषिहरुको सुयोग्य मन्त्रद्रष्टा सन्तति हुन् । वैदिक परम्परानुसार राजा-महाराजाहरुको विशिष्ट यज्ञानुष्ठानमा जुन ३ ऋषिहरुलाई वरण गरेर राखिन्छ; तिनलाई नै प्रवर भनिन्छ । निम्न श्लोकले पनि यहि कुरा पुष्टि गर्दछ - गोत्र भूतस्य पितृपितामहप्रपितामहाः एव प्रवराः पितै वाग्रेऽथ पुत्रोऽथ पौत्र इति (शतपथ ब्राह्मण) । अपत्यक्रमेण सादृश्यसम्बन्धेन वा प्रकर्षेण वरणानि प्रार्थनानि प्रवराः’- त्यसैले प्रकर्ष (उत्तमता) का साथ ऋषिकुलका पितापितामहप्रपितामहानुसार क्रमैले वरण जसलाई गरिन्छ ति प्रवर हुन्छन् । प्रवरस्तु गोत्रव्यावर्तक ऋषि विशेष एव’ (संस्कारदीपक), ‘प्रवियन्ते होत्रध्वर्युभ्यामुत्कीर्त्यन्ते इति प्रवराः’ (सत्कर्मरत्नावली) अनुसार गोत्रकार ऋषिहरुका व्यावर्तक अर्थात् मूलवंश छुट्याउने ऋषिविशेष तथा यज्ञादिहरुमा होता र अध्वर्युद्वारा प्रार्थनापूर्वक वरण गरिने विशिष्ट ऋषि नै प्रवर हुन् भन्ने अर्थ स्पष्ट हुन्छ । त्यस्तै परिकरको अर्थमा पनि प्रवरको प्रयोग हुन्छ ।
यसरी उल्लिखित मुख्य गोत्रमा कसैको ३ प्रवर, कसैको ५ प्रवर ऋषिहरुबाट पनि अनेक ऋषिसन्तानहरु वृद्धि हुँदै गएर हजारौं गोत्र हुन थालेपछि मूल ऋषिबाट वंश छुट्याउनको लागि ऋषिपरिवारको रूपमा गणको व्यवस्था भयो, जसलाई गोत्रभेद वा प्रवरभेद पनि भनिन्छ । यसरि प्रवर तथा गणले नै मूल गोत्रलाई समेटेको देखिन्छ । गण वा प्रवरभेदानुसार भृगुगण ७, आङ्गिरसगण १७, अत्रिगण ४, विश्वामित्रगण १०, कश्यपगण ३, वसिष्ठगण ४ र अगस्तिगण ४ गरेर जम्मा ४९ वटा गणभित्र बाँधिएका हजारौं गोत्रहरु छन् । यिनै गणभित्र पुराणहरुका ८८ हजार, ऋग्वेदादिका अनेकौं मन्त्रद्रष्टा ऋषिहरु पर्दछन् । जातिगत व्यवस्था चलेसँगै प्रायजसो ऋषि परम्परानुसारको गोत्रहरु ब्राह्मणमा मात्र सीमित छन् भने क्षत्रियहरुमा तथा अन्य जातिहरुमा कर्मक्षेत्रसँग सम्बन्धित गोत्रहरु चलेका छन् । त्यस्तै अर्काको गोत्र अङ्गिकार गर्ने गरेको इतिहास पनि सुन्नमा आउँछ । राजाले आफ्ना पुरोहितको, जनताहरुले आफ्ना राजाको, शिष्यहरुले आफ्ना गुरुको, नोकरहरुले मालिकको तथा कसैले निकटतम ऋषि आश्रमसँग एवं कतिले त जनावर, ठाऊँ, नदी र आफ्नादेवदेवीसँग सम्बन्धित गोत्रहरु अपनाएका पनि पाइन्छन् । यसरी समग्रमा हेर्दा प्रमुख ऋषिहरुबाट वर्तमान समयसम्म आउँदा हजारौंको संख्यामा गोत्रहरु विद्यमान रहेका छन् ।
अर्याल केशवशरण ‘आर्यकेश’ भरतपुर-४, शिवघाट (अर्याल बन्धु समाज, चितवनको अबस स्मारिका २०७४ मा प्रकाशित) 

>> अत्रि ऋषि र आत्रेय गोत्रको चर्चा <<

No comments:

Post a Comment