"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Wednesday, April 29, 2015

धरहरा - भीमसेनको ट्वीन टावर

यो १८८० अघि तिरको फोटो हो । १९९० को भूकम्पमा यो दरबार (गार्डन दरबार, प्रवेशद्वारमा बाघ राखिएकोले बाघदरबार) क्षतिग्रस्त भएपछि १९९७ मा यसको ठाउँमा नयाँ हरि भवन खडा गरिएको थियो ।
पढ्नुहोस्, हेर्नुहोस् धरहराको इतिहास, जो नेपालको ट्वीन टावरको रूपमा भीमसेन थापाले वि. सं. १८८१ र ८२ मा दुईवटा मिनार बनाएका थिए जुन ११/११ तलाका थिए । पहिलो मिनार १८८१ मा अहिलेको धरहराको दक्षिणपश्चिमपट्टि रहेको आफ्नो भीमसेन निवास (जनरलवाग/वागदरबार) परिसरमा मुगल शैलीमा निर्माण गराएका थिए र  रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै मिनारको इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो मिनार चाहिं अहिलेको धरहरा हो। यो नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित छ । भीमसेन थापाले बनाएको स्तम्भ भएको कारणले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
१९७७ ताकाको फोटोमा धरहरा र भीमसेन निवास
९ वर्षपछि वि.सं. १८९० सालमा आएको भूकम्पले पहिलो मिनार क्षतिग्रस्त भएर ७ तला बाँकी रह्यो । तर त्यो मिनार भूकम्पपछि भीमसेन थापाको आत्महत्या लगत्तै पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। भग्नावशेषको रूपमा रहेको उक्त पहिलो मिनारलाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले पुनः पूर्ण रूपमा भत्काइदियो र दोस्रो मिनार जुन अहिले हामीले देखेका छौं धरहराको रूपमा; त्यो पनि क्षतिग्रस्त भएर जम्मा ५ तला जति बाँकी रह्यो । पछि वि.सं. १९९२ सालमा तात्कालिन राणा प्रधानमन्त्री जुद्धसमशेरले ९ तलामा सिमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराए । तर रंगरोगन भने २००२ सालमा गरिएको थियो । २०५५ सालपछि पुनः यसको मर्मत सम्भार हुँदै गयो र अहिलेको सुन्दर सफा धरहरा बन्न पुग्यो । बिना फलाम र काठको भरमा अडिएको यो धरहरा फेरी वि.सं. २०७२ सालको महाभूकम्पमा परी पूर्ण रूपमा विलिन भएको छ । धरहराको निर्माण ईटा र बज्र अर्थात् सुर्की, चून, मास र चाकुको मिश्रणबाट भएको थियो ।

यसरी वि.सं. १८८१ सालदेखि नेपालको इतिहासमा भीमसेनको ट्वीन टावरले १९९० सालको भूकम्पसम्ममा येनकेन आफ्नो अस्तित्व बचायो र भूकम्पपछि एउटा पूर्ण ध्वस्त भयो र अर्को भग्नावशेषको रूपमा १९९२ सम्म रह्यो । त्यसपछि पुनर्निर्माणसँगै हालसम्म पनि देश तथा विदेशका नागरिकहरुलाई नेपालको इतिहास दर्शाउन र नेपालमा आउन प्रेरित गर्ने राष्ट्रिय सम्पदा धरहरा २०७२ सालको विनाशकारी भूकम्पमा परि धराशायी भएको छ । अन्ततः १९१ वर्षको लामो इतिहासको अन्त्य भएको छ ।

1 comment:

  1. Dates provided are not matching. Reconsider once, calculate again and update your article.

    ReplyDelete